जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआज बिन जबल (रजियल्लाहु अन्हु) लाई इस्लामको प्रचारक र शिक्षकको रूपमा यमनतर्फ पठाउनुभयो, तब उहाँले भन्नुभयो, तिमीलाई ईसाई समुदायको सामना गर्नुपर्नेछ, त्यसैले तयार हुनुपर्छ र इस्लाम तर्फ बोलाउँदा क्रमशः बढी महत्त्वपूर्ण कुराहरूतर्फ बोलाउनु पर्छ भनि बताउनु भयो । तसर्थ, सबैभन्दा पहिले अकीदा (आस्था) को सुधारको लागि आह्वान गर्नु पर्नेछ, अर्थात्, अल्लाह बाहेक कोही सत्य ईश्वर छैनन् र मुहम्मद अल्लाहका रसूल (ईशदूत) हुनुहुन्छ भन्ने वचन तर्फ बोलाउनुपर्छ । किनकि यस गवाही मार्फत तिनीहरू इस्लामको दायरामा प्रवेश गर्नेछन् । त्यसपछि तिनीहरूलाई नमाज पढ्न आदेश दिनु पर्नेछ, किनभने तौहीद पछि सबैभन्दा ठूलो कर्तव्य सलाह (नमाज) कायम गर्नु नै हो । यदि तिनीहरूले सलाह पढ्न् थाल्छन् भने तिनीहरूका धनीहरूबाट जकात (अनिवार्य दान) लिएर तिनीहरूका गरिबहरूमा वितरण गर्न आदेश दिनु पर्नेछ ।(र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले) त्यस पछि, तिनीहरूको उत्तम धन जकातको रूपमा नलिन चेतावनी दिनुभयो । किनकि (जकातमा) मध्यम प्रकारको धन मात्र लिनु अनिवार्य छ । त्यसपछि उनीहरूमाथि अन्याय नगर्न वसीयत (निर्देशन) गर्नुभयो; ताकि पीडितहरूको श्रापको सामना गर्न नपरोस् । किनभने उत्पीडितहरूको गुनासो (प्रार्थना) स्वीकार हुन्छ ।