जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो र उनलाई भन्नुभयो: हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म यही वचनको आधारमा अल्लाहको सामु तपाईंको लागि गवाही दिनेछु । यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: अबु तालिब ! के तपाईंले आफ्नो बुबा अब्दुल मुत्तलिबको धर्म छोड्नुहुन्छ? त्यो धर्म वास्तवमा मूर्तिपूजाको धर्म थियो । ती दुवैले उहाँलाई बारम्बार सोही कुरा भनिरहे, यहाँसम्म कि उहाँको अन्तिम वचन: "म अब्दुल मुत्तलिबको धर्मको अनुसरण गर्दै यो संसार छोड्दैछु" थियो । अर्थात्, उहाँले शिर्क र मूर्तिपूजक धर्ममै रहदाँ प्राण त्याग गर्नुभयो। । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मेरो प्रभुले मलाई मनाही नगरेसम्म म तपाईंको लागि माफी मागिरहनेछु । तसर्थ, यो आयत अवतरित भएको थियो: “बहुदेववादीहरू नरकबासी हुन् भन्ने कुरा स्पष्ट भएपछि नबी तथा आस्थावानहरूले तिनीहरूको लागि क्षमाको माग्नु उपयुक्त हुँदैन, चाहे तिनीहरू उनका नातेदार नै किन नहुन् ।" [अत-तौबा: ११३] त्यसैगरी अबु तालिबको बारेमा पनि आयत अवतरित भयो, अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्बोध गर्दै भन्नुहुन्छ : “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र उहाँले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्नुहुन्छ ।” [अल कसस: ५६] अर्थात् तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ । तिम्रो काम केवल सन्देश पुर्याउनु हो। अल्लाहले जसलाई चाहनुहुन्छ सत्यको मार्गमा डोऱ्याउनुहुन्छ ।