‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, उसको कपाल जिङ्ग्रिङ्ग परेको थियो र उसको आवाज चर्को भएकोले उसले भनिरहेको कुरा बुझ्न गार्हो थियो । यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको अनिवार्य कर्तव्यहरू बारे सोध्यो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजका बारेमा बताउन सुरु गर्नुभयो र अल्लाहले दिन-रातमा पाँच नमाजहरू अनिवार्य गर्नुभएको कुरा जानकारी दिनुभयो। उसले भन्यो: के मैले यी पाँच नमाज बाहेक अरू कुनै नमाजहरू पढ्न आवश्यक छ? उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीमाथि अनिवार्य गर्नुभएको कर्तव्यहरू मध्ये रमजान महिनाको रोजा राख्नु हो । व्यक्तिले फेरि भन्यो: के म माथि रमजानको रोजा बाहेक अरु कुनै रोजा राख्नु अनिवार्य छ ? उहाँले भन्नुभयो: छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातको बारेमा बताउनु भयो । व्यक्तिले भन्यो: के मैले अनिवार्य जकात पछि कुनै दान गर्नु पर्छ? उहाँले भन्नुभयो: छैन, तर अतिरिक्त दान दिन सक्छौ । उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी अनिवार्य कुराहरु सुनेपछि फर्किएर जान लाग्यो र अल्लाहको कसम खाएर भन्यो : "म यी कुराहरूमा केही थपघट नगरी पालना गर्नेछु।" यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि ऊ आफ्नो भनाइमा सच्चा छ भने, ऊ सफल हुनेछ।"