केही गरीब सहाबाहरूले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आफ्नो कठिनाइ, गरिबी र धनी भाइहरूझैँ सम्पत्ति दान गरेर ठूलो पुण्य र प्रतिफल हासिल गर्न नसकेको, साथै नेकी (पुण्य) का कामहरूमा उनीहरू सरह अगाडि बढ्न नसकेको गुनासो गर्दै यसरी भनेः “हामी नमाज पढ्छौँ भने उनीहरू पनि नमाज पढ्छन्, हामी रोजा राख्छौँ भने उनीहरू पनि रोजा राख्छन्। तर उनीहरूले आफ्ना अतिरिक्त धनबाट दान–खैरात गरेर हामीभन्दा अघि बढ्छन्, तर हाम्रो हातमा दान गर्न केही पनि हुँदैन।” त्यसैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई दान–खैरात गर्ने केही त्यस्ता उपायहरू बताइदिनुभयो, जुन उनीहरूले पनि गर्न सक्थे। उहाँले भन्नुभयो: के अल्लाहले तिमीहरूका लागि दान–खैरात गर्ने बाटाहरू खोलिदिनु भएको छैन र? ‘सुब्हानल्लाह’ को जप गर्नु तिमीहरूका लागि दान हो, ‘अल्लाहु अकबर’ भन्नु दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु दान हो, भलाइको हुकुम दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अँझ आफ्नो पत्नीसँग शारीरिक सम्बन्ध राख्नु पनि दान हो। सहाबाहरू यस कुरामा धेरै अचम्म मानेर भनेः “हे अल्लाहका रसूल! के हाम्रो वासना पूरा गर्नेमा समेत पुण्य र प्रतिफल मिल्छ र?” उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: “भन त, यदि कसैले आफ्नो वासना हराम स्थानमा पूरा गर्यो भने – जस्तै व्यभिचार आदिमा संलग्न भयो भने – के उसलाई पाप हुने छैन र? त्यसैगरी जब उसले आफ्नो वासना हलाल मार्गबाट पूरा गर्छ, तब उसलाई पुण्य र प्रतिफल अवश्य नै मिल्छ।”