रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्ने व्यक्तिले मुअज्जिन (अजान दिने व्यक्ति) ले भनेका शब्दहरू दोहोर्याउनु पर्छ भनेर निर्देशन दिनुभएको छ । तर जब मुअज्जिनले (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) भन्छ, श्रोताले यसको जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ । अजान समाप्त भएपछि रसूलमाथि दरूद पठाउनु पर्छ, किनकि जसले उहाँमाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । अल्लाहले भक्तमाथि दरूद पठाउनुको अर्थ भनेको अल्लाहले फरिश्ताहरूको माझमा उनको प्रशंसा गर्नु हुन्छ । त्यसपछि अल्लाहसँग उहाँको लागि वसीला माग्ने आदेश दिनुभयो । वास्तवमा, वसीला स्वर्गको सर्वोच्च स्थान हो, जुन अल्लाहका सबै सेवकहरू मध्ये मात्र एक सेवकलाई प्राप्त हुनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु भनेर उहाँले भन्नुभयो । वास्तवमा, यो कुरा उहाँले नम्रताको रूपमा भन्नुभएको छ, किनभने अल्लाहको एक मात्र सेवकले त्यो स्थान पाउनेछ भने त्यो उहाँ नै हुनुहुनेछ, किनकि उहाँ सबैभन्दा उत्तम मानव हुन् । त्यसपछि उहाँले भन्नुभयो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को लागि वसीलाको दुआ गर्छ, उसले उहाँको शफाअत (सिफारिस) प्राप्त गर्नेछ ।