उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को वुजुको विधिलाई सजिलोसंग सम्झाउनका लागि व्यवहारिक रूपमा गरेर देखाए । उनले एउटा भाँडोमा पानी मगाए, त्यसपछि पानी खन्याएर दुवै हातलाई तीन पटक सफा गरे, त्यसपछि आफ्नो दाहिने हात भाँडोमा राखे अनि पानी लिएर मुख कुल्ला गरे, मुख भित्र-बाहिर पानी घुमाए र त्यसपछि नाकभित्र पानी तानेर राम्रोसँग सफा गरे, त्यसपछि उनले आफ्नो अनुहार तीन पटक धोए, त्यसपछि आफ्नो दुवै हात कुहिनो सहित तीन पटक धोए, त्यसपछि पानीले भिजेका हातहरूले आफ्नो टाउकोमा एक पटक घसे, त्यसपछि आफ्नो गोलिगाँठोसमेत दुवै खुट्टाहरू तीन पटक धुए । उनले वुजु गरिसकेपछि भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि उनले शुभ समाचार दिदै भने जसले मेरो यो वुजु झैं वुजु गर्छ, र त्यसपछि नम्रता र एकाग्रताका साथ अल्लाहको लागि दुई रकात नमाज पढ्छ, अल्लाहले उसका विगतका पापहरू क्षमा गर्नुहुनेछ ।