नबी (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) ले जाँतो (चक्की) पिस्ने कारणले हातमा उठेको फोकोबारे गुनासो गरिन्। उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही युद्धबन्दीहरू ल्याइएका थिए। घरको काममा सघाउन एउटा कामदार चाहियो भनेर उनी आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रजियल्लाहु अन्हा) सित गरेर फर्किन्। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो, तब आइशा (रजियल्लाहु अन्हा) ले फातिमा (रजियल्लाहु अन्हा) एउटा सेवक लैजान अनुरोध गर्न आएकी थिइन् भन्ने कुरा बताउनुभयो। यो सुनेर, उहाँ फातिमा र अली (रजियल्लाहु अन्हुमा) को घर आउनुभयो र त्यतिबेला उनीहरू ओछ्यानमा गइसकेका थिए र सुत्ने तयारीमा थिए । उहाँ दुवै जनाको बीचमा बस्नुभयो । यहाँसम्म कि अली (रजियल्लाहु अन्हु) ले उहाँको दुवै पाइलाको शीतलता आफ्नो पेटमा महसुस गर्नुभयो। अनि उहाँले भन्नुभयो : के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले मसँग मागेको सेवकभन्दा उत्तम छ? दुवैले भने: "हो, अवश्य सिकाउनु होस्!" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमीहरू राति आफ्नो ओछ्यानमा सुत्ने बेला ‘अल्लाहु-अक्बर’ ३४ पटक, ‘सुब्हानल्लाह’ ३३ पटक, र ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक भन्ने गर्नु । यी शब्दहरू तिमीहरुका लागि सेवक राख्नुभन्दा उत्तम छ ।