मुआविया बिन अबी सुफयान (रजियल्लाहु अन्हुमा) मस्जिदमा एउटा हल्का (समूह) तिर आउनुभयो र तिनीहरूसँग सोध्नुभयोः तिमीहरू कुन कुराको लागि भेला भएका छौ ? तिनीहरूले भने: हामी अल्लाहलाई याद (जिक्र) गर्न बसेका छौं । उनले यो सुनेर तिनीहरू अल्लाहलाई याद (जिक्र) गर्न बसिरहेका छन् भन्ने कुराको लागि कसम खान लगाए । र तिनीहरूले त्यसकुरा प्रति कसम खाए । त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "मैले तपाईंहरूको सत्यतामाथि शंका गरेर वा तपाईंहरूलाई झुटो ठानेर कसम खान भनेको होइन।" साथै, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग उहाँको जस्तो घनिष्ठता र पद अरू कसैको नभएको बताउनुभयो; किनभने उहाँकी बहिनी उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी हुनुहुन्थ्यो र उहाँ स्वयं 'वही' (ईश्वरीय प्रकाश) का लेखकहरूमध्ये एक हुनुहुन्थ्यो। यति हुँदाहुँदै पनि, उहाँले धेरै कम हदीसहरू वर्णन गर्नुभएको छ। त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले उनीहरूलाई बताउनुभयो कि "एक दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरबाट बाहिर निस्कनुभयो र उहाँहरूलाई (सहाबीहरूलाई) मस्जिदमा बसेर अल्लाहको स्मरण गरिरहेको र इस्लामको मार्गदर्शन प्रदान गर्नुभएकोमा अल्लाहको प्रशंसा गरिरहेको अवस्थामा भेट्टाउनुभयो। तब उहाँले आफ्ना सहाबीहरूलाई पनि त्यसरी नै सोध्नुभयो र कसम लिनुभयो, जसरी मुआविया (रजियल्लाहु अन्हु) ले सोध्नुभएको र कसम लिनुभएको थियो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूसँग गर्नुभएको प्रश्न र कसम खान लगाउनुको कारण खुलाउँदै भन्नुभयो: जिब्रील (अलैहिस्सलाम) मकहाँ आएर भन्नुभयो: अल्लाहले स्वर्गदूतहरूको अगाडि ती सहाबीहरूको उत्कृष्टता बताउँदै र उनीहरूका असल कार्यहरू देखाउँदै उनीहरूप्रति गर्व गरिरहनुभएको छ।