अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रष्ट पार्नुभयो कि अल्लाहको नजरमा मुस्लिमलाई त्यही किसिमको पुण्य र प्रतिफल प्राप्त हुन्छ, जुन उसले अरू मुस्लिमहरूसँग व्यवहार गर्छ। जसले कुनै मुस्लिमबाट दुनियाको कुनै कठिनाइ वा पीडा हटाउँदछ भने अल्लाह तआलाले त्यसको बदलामा उसलाई कयामतको दिनका कठिनाइहरू र कष्टहरू मध्ये कुनै एक कठिनाइबाट मुक्ति दिनुहुनेछ। जसले कुनै कठिनाइमा परेका (ऋणी वा पीडित) व्यक्तिलाई सजिलो बनायो, उसमाथिको कठिनाइ हटायो र उसको बोझ हल्का गर्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा सजिलो र राहत प्रदान गर्नुहुनेछ। जसले कुनै मुस्लिमको कमजोरी वा गल्ती (जसको भेद खुल्न उचित हुँदैन) लुकायो र उसको इज्जत ढाक्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा ढाक्नुहुनेछ । अल्लाह आफ्नो भक्त (मोमिन) को सहयोगी रही रहनुहुन्छ, जबसम्म त्यो भक्त (मोमिन) आफ्ना धार्मिक र सांसारिक कामहरूमा आफ्ना भाइ (मुस्लिम) को मद्दत गर्न लागिपरेको हुन्छ। यो मद्दत दुआद्वारा, भौतिक सहयोगद्वारा, आर्थिक सहयोगद्वारा वा अन्य कुनै तरिकाबाट हुन सक्छ। जसले अल्लाहको खुशी/प्रशन्नता प्राप्तिको नीयतले धार्मिक ज्ञान हासिल गर्नको लागि यात्रा गर्यो (वा प्रयास गर्यो), अल्लाह तआला उसलाई त्यस ज्ञानको कारण स्वर्गतर्फ जाने बाटो सजिलो बनाइदिनुहुन्छ। जब कुनै समूह अल्लाहका घरहरूमध्ये (मस्जिद) कुनै घरमा भेला हुन्छन् र अल्लाहको किताब (कुरआन) तिलावत गर्छन् र आपसमा त्यसको अध्ययन गर्छन्, तब उनीहरूमा अमन र शान्ति अवतरण हुन्छ, सम्मान र गम्भीरता (वकार) ले तिनीहरूलाई ढाक्छ, अल्लाहको रहमतले उनीहरूलाई घेर्छ, फरिश्ताहरूले तिनीहरूलाई घेर्छन् र अल्लाह तआला आफ्ना नजिकका फरिश्ताहरूको बीचमा उनीहरूको प्रशंसा गर्नुहुन्छ। यसभन्दा ठूलो सम्मान के हुन सक्छ, अल्लाह स्वयं आफ्नो भक्तको नाम उच्च सभामा लिनुहुन्छ। जसको कर्म (अमल) अधूरो हुन्छ, उसलाई राम्रो काम गर्नेहरूको दर्जासम्म पुग्न दिइँदैन। त्यसैले कसैले पनि आफ्नो वंशको इज्जत र पूर्वजहरूको महानताको भरमा मात्र निर्भर गरेर काममा लापरबाही गर्नु हुँदैन।