जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, सुरह फातिहा पढ्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। यस अन्तरालमा उहाँले केही दुआ (प्रार्थना)हरू पढ्नुहुन्थ्यो र त्यसपछि आफ्नो नमाज सुरु गर्नुहुन्थ्यो। यी प्रार्थनाहरूमध्ये एक यो हो: "अल्लाहुम्म बाइद् बैनी व बैन खताया-य, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खताया-य, कमा युनक्कस्सौबुल्-अब्यजु मिनद् दनस, अल्लाहुम्मग्सिल्नी मिन् खताया-य बिष्षल्जि वल्-माइ वल्-बरद् ।" यो प्रार्थनामा व्यक्तिले यो भन्छ कि हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यत्तिकै टाढा राख्नुहोस् जसरी तपाईंले पूर्व र पश्चिमलाई टाढा राख्नुभएको छ। हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यसरी नै स्वच्छ र शुद्ध पार्नुहोस् जसरी सेतो कपडाबाट फोहोर र दाग सफा गरिन्छ। हे अल्लाह! मेरा पापहरूको जलन र तापलाई शुद्धि गर्ने चिसा कारकहरूद्वारा, जस्तै हिउँ, पानी र असिनाले शीतल पारिदिनुहोस्।