रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाजमा सलाम फेरिसकेपछि अल्लाहको पवित्रतालाई यस महान जिक्र मार्फत वर्णन गर्नुहुन्थ्यो, जसको अर्थ हो: "ला इलाहा इल्लल्लाह": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "वह्दहू ला शरीक लहु": उहाँ एक्लै हुनुहुन्छ र (उपासना, प्रभुत्व र नाम र विशेषताहरूमा) उहाँको कुनै साझेदार छैन । "लहुल्मुल्कु" : उहाँको लागि सार्वभौमसत्ता हो । उहाँ सर्वव्यापी, आकाश, पृथ्वी र बिचमा भएका सबै चीजहरूको स्वामी हुनुहुन्छ । “व लहुल्-हम्दु”: सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् । उहाँ हरेक दृष्टिले परिर्पूर्ण, सम्पन्न र निरपेक्ष हुनुहुन्छ । उहाँको महिमा दुःख सुख हरेक परिस्थितिमा प्रेम र आदरका साथ वर्णन गरिनेछ । "व हुव अला कुल्लि शैइन् कदीर्": उहाँको शक्ति सबै मामिलामा पूर्ण छ । उहाँको लागि कुनै पनि कुरा असम्भव छैन । उहाँले गर्न नसक्ने केही छैन । "ला हौल वला कुव्वत इल्ला बिल्लाह्": अल्लाहको तौफिक (सहायता) बिना एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण हुने र उहाँको अवज्ञा छोडेर आज्ञापालन गर्ने शक्ति कसैसँग छैन । उहाँ नै वास्तविक सहयोगी हुनुहुन्छ र उहाँमाथि नै सम्पूर्ण भरोसा छ । "ला इलाह इल्लल्लाहु, वला नअ्बुदु इल्ला इय्याह्": अल्लाह बाहेक अरू कोही उपासना योग्य छैन र उहाँको कुनै साझेदार छैन भन्ने कुरामा जोर दिइएको छ । "लहुन्निअ्मतु व लहुल्-फज्लु": उहाँ नै हुनुहुन्छ जसले सबै आशीर्वाद सिर्जना गर्नुहुन्छ, उहाँ तिनीहरूको मालिक हुनुहुन्छ र उहाँले जसमाथि चाहनुहुन्छ ती माथि उपकार गर्नुहुन्छ । "व लहुस्सना उल्-ह सन्": हस्ती, गुण, कर्म, आशिष र हरेक किसिमको उत्कृष्ट प्रशंसा उहाँकै लागि हो। "लाइलाह इल्लल्लाहु मुख्लिसीन लहुद्दीन" हामी इख्लास / निष्ठाका साथ उहाँको उपासना गर्छौं । उहाँको उपासनालाई हरेक किसिमको कपट, पाखण्ड, ढोंग र प्रसिद्ध हुने भावनाबाट मुक्त राख्छौं । "व लौ करिहल्-काफिरून्": हामी तौहीद (अल्लाहलाई एक मान्ने) र उहाँको उपासना गर्नमा अडिग रहनेछौं, चाहे काफिरहरूलाई नराम्रो लागे पनि ।