रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो: अल्लाहले प्रलयको दिन मेरो समुदाय बाट एउटा व्यक्तिलाई सबै मानिसहरूको अगाडि उसको हिसाब-किताबको लागि ल्याउनु हुनेछ र उसको अगाडि उसैका उनान्सय कर्मपत्रहरू पेश गरिनेछ । ती कर्मपत्रहरूमा उसले यस संसारमा गरेका कुकर्कमहरू हुनेछन् । र हरेक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नु हुनेछ: के तिमी यी कर्मपत्रमा लेखिएका कुनैपनि कुरालाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? त्यस व्यक्तिले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीलाई तिम्रो संसारिक कुकर्म बारे आफ्नो सफाइमा केही भन्नु छ, के तिमी भूलचुक, गल्ती वा अज्ञानताले गर्दा पापमा लिप्त भएको हौ ?। त्यो व्यक्तिले भन्नेछ: होइन, हे प्रभु! मलाई मेरो सफाइमा केही भन्नु छैन। तब अल्लाहले भन्नुहुनेछ : हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ । त्यसपछि अल्लाहले त्यस व्यक्तिलाई भन्नुहुनेछ: जाऊ, आफ्नो कर्मको वजन गर्ने ठाउँमा उपस्थित होउ । त्यो व्यक्ति अचम्म मानेर सोध्ने छ: हे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाहले भन्नुहुनेछ: आज तिमीमाथि कुनै अत्याचार र अन्याय हुनेछैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कागजको टुक्रा अर्को पात्रमा राखिनेछ,र त्यो अभिलेखहरूको पात्र हल्का र त्यो कार्ड राखिएको पात्र गह्रुङ्गो हुनेछ । यसरी अल्लाहले त्यस व्यक्तिलाई क्षमा प्रदान गर्नु हुनेछ।