अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।” सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि मृत व्यक्तिको कर्म उसको मृत्युसँगै समाप्त हुन्छ, त्यसैले उसले मृत्युपछि यी तीन चीजहरू बाहेक अरूबाट पुण्य प्राप्त गर्नेछैन; किनकि ती तीन कुराहरू वास्तवमा उसैले गरेको थियो: पहिलो: यस्तो दान (सदका), जसको पुण्य निरन्तर र स्थायी रूपमा प्राप्त भइरहन्छ र जसको क्रम कहिल्यै टुट्दैन। उदाहरणका लागि: वक्फ (धर्मार्थ गुठी), मस्जिद निर्माण, पिउने पानीका लागि इनार खन्ने तथा अन्य जनहितकारी कार्यहरू। दोस्रो: यस्तो लाभदायी ज्ञान, जसबाट मानिसहरू निरन्तर लाभान्वित भइरहन्छन्। जस्तै: ज्ञानका पुस्तकहरूको लेखन, शिक्षण वा ज्ञानको प्रसार, जुन उक्त व्यक्तिको मृत्युपश्चात् पनि समाजमा फैलिइरहन्छ। तेस्रो: यस्तो सदाचारी र आस्थावान् सन्तान, जसले आफ्ना मातापिताको मृत्यु पछि पनि उहाँहरूका लागि अल्लाहसँग प्रार्थना (दुआ) गरिरहन्छ।

explain-icon

fawaed

  • मानिसले मृत्यु पश्चात् पनि प्राप्त गर्ने पुण्य—निरन्तर दान (सदकह जारिया), लाभकारी ज्ञान र दुआ (प्रार्थना)—का विषयमा विद्वानहरूबीच सर्वसम्मति रहेको छ। साथै, केही अन्य हदीसहरूमा हज पनि यसमा समावेश भएको उल्लेख पाइन्छ।
  • यस हदीसमा यी तीन कुरालाई विशेष रूपमा उल्लेख गर्नुको कारण यो हो कि यिनीहरू भलाइका मूल स्रोत हुन्, र धेरैजसो असल व्यक्तिहरूले प्रायः आफूपछि यिनै कुराहरूको निरन्तरता र स्थायित्वको कामना गर्दछन्।
  • जुनसुकै लाभदायक ज्ञान, जसबाट मानिसहरूले लाभ प्राप्त गर्छन्, त्यसको पुण्य मृतकलाई निरन्तर प्राप्त भइरहन्छ। तथापि, यी सबैमा सर्वोत्कृष्ट स्थान भनेको ‘शरीअत’ को ज्ञान र त्यसका सहायक सिद्ध हुने अन्य विद्याहरूको रहेको छ।
  • यी तीनमध्ये ज्ञान नै सर्वाधिक लाभदायक हुन्छ। किनकि ज्ञान आर्जन गर्ने व्यक्ति स्वयं यसबाट लाभान्वित हुन्छ, यसद्वारा नै शरीअतको संरक्षण हुन्छ र यसले समस्त सृष्टिलाई सामान्य रूपमा फाइदा पुर्‍याउँछ। यो अत्यन्त व्यापक र सर्वव्यापी हुन्छ; किनकि जीवनकालमा होस् वा मृत्युपश्चात्, यसबाट निरन्तर शिक्षा र मार्गदर्शन प्राप्त भइरहन्छ।
  • आफ्नो सन्तानलाई आस्थावान् बनाउन प्रोत्साहन गरिएको छ; किनभने तिनीहरूले नै आमाबुवाको मृत्युपश्चात् उहाँहरूलाई लाभ पुर्‍याउने छन्, जस्तै: उहाँहरूका लागि दुआ (प्रार्थना) गर्नु आदि।
  • आमाबुवाको मृत्युपश्चात् पनि उनीहरूप्रति राम्रो व्यवहार (भलाई) जारी राख्न प्रेरित गरिएको छ। यो एक विशिष्ट पुण्य हो, जसबाट सन्तान पनि लाभान्वित हुन्छन्।
  • सन्तानबाहेक अन्य व्यक्तिहरूले पनि दुआ गरेमा मृतकलाई लाभ पुग्छ; तर विशेष रूपमा सन्तानको उल्लेख यस कारण गरिएको हो कि सन्तान स्वयं जीवित रहुञ्जेल आमाबुवाका लागि निरन्तर दुआ गरिरहन्छ र अरूले त्यसो गर्दैनन्।