नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नरकमा जाने दुई प्रकारका मानिसहरूबाट सावधान रहन चेतावनी दिनुभएको छ। यी समूहहरूलाई उहाँले आफ्नो समयमा देख्नुभएको थिएन, किनकि तिनीहरू उहाँपछि देखा पर्ने थिए: पहिलो: गाईको पुच्छरजस्तै लामो कोर्रा बोक्ने मानिसहरू, जसले अरूलाई पिट्नेछन्। उनीहरू अन्यायपूर्ण तरिकाले नियमहरू लागु गर्ने र दमनकारीका दलालहरू हुन्, जसले सोझासाझा जनतामाथि अन्याय गर्नेछन्। दोस्रो: बेसरम र निर्लज्ज महिलाहरू; जसले सतीत्व, पवित्रता र लज्जाको आवरण त्यागेका छन्, जुन सामान्यतया नारीहरूको लागि जन्मजात र स्वाभाविक हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई यसरी वर्णन गर्नुभयो: नामको लुगा लगाएका तर वास्तवमा नग्न हुनेछन्; किनभने तिनीहरू फेशन र अंगप्रदर्शनको होडमा पातलो र पारदर्शी लुगा लगाउँछन् जसले भित्रको छाला देखिन्छ, साथै तिनीहरू शरीरको केही भाग ढाक्छन् र केही भाग खुला राख्छन्। उनीहरू आफ्नो पहिरन र चालचलनले पुरुषहरूको मन आफूतिर आकर्षित गर्नेछिन्। काँध र घाँटी मटकाउँदै हिँड्नेछिन् र अरूलाई पनि आफू भएको पतन र पथभ्रष्टतातर्फ तान्न प्रयत्न गर्नेछिन्। तिनीहरूको पहिचान भनेको उनीहरूको शिर हल्का झुकेको ऊँटको जुरो जस्तो देखिनु हो। उनीहरूले कपडा, कपाल वा त्यस्तै कुनै वस्तु लगाएर आफ्नो शिरको आकार ठूलो देखाउँछिन्। तिनीहरूको कपाल र चुल्ठो टाउकोमाथि उठेको र ऊँटको जुरो जस्तै एकातर्फ ढल्केको हुने भएकाले यसलाई ऊँटको जुरोसँग तुलना गरिएको छ। तसर्थ, जस-जसमा यी दुर्गुणहरू छन्, ती महिलाहरू यस हदीसमा उल्लेख गरिएको धम्कीका भागीदार हुन्—उनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन्, न त त्यसको नजिक पुग्नेछन्, न त तिनीहरूले स्वर्गको सुगन्ध पाउनेछन्। जबकि स्वर्गको सुगन्ध धेरै टाढाबाट पनि अनुभव गर्न र सुँघ्न सकिन्छ।