जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदीना आउनुभयो, मानिसहरू उहाँलाई देख्नासाथ उहाँतर्फ दौडिए। उहाँलाई भेट्न जानेहरूमध्ये अब्दुल्लाह बिन सलाम पनि थिए, जो एक यहूदी थिए। जब उनले उहाँलाई देखे, उहाँको मुहारको प्रकाश, सौन्दर्य र सत्यव्रत प्रतिष्ठा स्पष्ट देखेर ‘यो कुनै झूटा मानिसको अनुहार हुन सक्दैन’ भन्ने कुरा उनले थाहा पाइहाले । उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मुखबाट सुनेको पहिलो कुरा के थियो भने उहाँले मानिसहरूलाई स्वर्गमा प्रवेश गराउने सत्कर्महरू गर्न प्रोत्साहित गरिरहनुभएको थियो, तीमध्ये निम्न छन् : पहिलो: सलाम (अभिवादन) को व्यापक प्रसार गर्नु, यसलाई खुला रूपमा प्रचलनमा ल्याउनु र परिचित तथा अपरिचित सबैलाई सलाम गर्नु। दोस्रो: मानिसहरूलाई भोजन गराउनु; चाहे त्यो सद्का (दान) र उपहारस्वरूप होस्, वा अतिथि सत्कारको रूपमा। तेस्रो: रगतको नातालाई सुदृढ पार्नु। अर्थात्, पितृ वा मातृ पक्षबाट रगतको सम्बन्ध वा नजिकको सम्बन्ध भएका आफन्तहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु। चौथो: जब मानिसहरू निद्रामा मग्न हुन्छन्, त्यस समयमा रातको नफिल (स्वैच्छिक) नमाज पढ्नु।