रसूल (सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ, जसले आफ्नो जिब्रोले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो असंलग्नता देखाउँदछ, उसको धन र रगत (ज्यान) मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य हाल मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो । यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उसको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।