नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) गर्दा कुनै सर्त राख्न वा ‘यदि अल्लाहको इच्छा भए’ भनेर दुआ गर्न निषेध गर्नुभएको छ। किनभने यो कुरा निश्चित र प्रमाणित छ कि अल्लाहले चाहेमा मात्र क्षमा गर्नुहुन्छ। त्यसैले दुआमा ‘अल्लाहको इच्छा’ (मशियत) को सर्त राख्नुको कुनै अर्थ हुँदैन। सर्त त्यस्तो व्यक्तिका लागि राखिन्छ, जो कसैको दबाब वा बाध्यतामा परेर आफ्नो इच्छाबीना पनि काम गर्न बाध्य हुन्छ; तर अल्लाह यी सबै कुराबाट पवित्र हुनुहुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसको अन्त्यमा स्पष्ट पार्नुभएको छ कि ‘अल्लाहलाई बाध्य पार्ने कोही छैन।’ अल्लाहले कसैलाई केही दिनुभयो भने त्यो उहाँका लागि ठूलो कुरा होइन, न त उहाँ असक्षम हुनुहुन्छ, न त उहाँका लागि कुनै कुरा गाह्रो छ कि हामीले ‘यदि हजुरको इच्छा भए’ भन्नुपरोस्। दुआलाई अल्लाहको इच्छासँग जोड्नु भनेको एक प्रकारले उहाँको क्षमाप्रति बेवास्ता वा घमण्ड देखाउनुजस्तै हो। जब कसैले भन्छ, ‘यदि हजुरको इच्छा छ भने मलाई यो दिनुहोस्,’ यस्तो भाषा कि त आफूलाई त्यसको आवश्यकता नभएको बेला वा सामुन्नेको व्यक्ति असक्षम भएको बेला प्रयोग गरिन्छ। तर सर्वशक्तिमान् अल्लाहको समक्ष आफ्नो विवशता र आवश्यकताका साथ दृढ संकल्पपूर्वक प्रार्थना गर्नुपर्दछ, र आफूले मागेको कुराप्रति असहाय एवं विवश व्यक्तिले जस्तै याचना गर्नुपर्दछ तथा अल्लाहकै शरण लिनुपर्दछ; किनभने उहाँ सर्वपूर्ण, सर्वसम्पन्न र हरेक कुरामाथि पूर्ण सामर्थ्य राख्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ।