अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सत्य बोल्न आदेश दिनुभएको छ, किनकि सत्यले असल कर्मतर्फ मार्गदर्शन गर्छ, र धार्मिकताले असल काममा दृढ रहने व्यक्तिलाई स्वर्गतर्फ पुर्‍याउँछ भनी उहाँले स्पष्ट गर्नुभएको छ। मानिस बाह्य तथा आन्तरिक रूपमा सधैं सत्यनिष्ठ र इमानदार रहिरहँदा, अन्ततः उसले ‘सिद्दीक’ भन्ने उपाधि प्राप्त गर्छ। ‘सिद्दीक’ भन्नाले इमानदारीको सर्वोच्च स्थानलाई जनाउँछ। त्यसपछि उहाँले मिथ्या र असत्य बोल्ने बानीबारे चेतावनी दिनुभयो; किनभने यसले सत्य र निष्ठाबाट टाढा लैजान्छ तथा दुष्टता, पाप एवं अनैतिकतातर्फ धकेल्छ, जसको अन्तिम परिणाम नर्क हो। मानिस निरन्तर झूट बोल्दै जान्छ, यहाँसम्म कि ऊ अल्लाहको लेखमा 'महाझूटा' (कज्जाब) भएको लेखिन्छ।

explain-icon

fawaed

  • सत्यता र इमानदारी एक उत्कृष्ट चरित्र हो, जुन प्रयासबाट प्राप्त हुन्छ। मानिस सधैं सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि इमानदारी उसको स्वाभाविक गुण बन्दछ र ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवान) लेखिन्छ।
  • झूट बोल्नु एक निन्दनीय र निकृष्ट स्वभाव हो, जसलाई मानिसले लामो समयसम्म बोली र व्यवहारमा झूटको अभ्यास गरेर विकास गर्दछ, यहाँसम्म कि यो उसको स्वभाव र चरित्र नै बन्छ। फलस्वरुप अल्लाहकहाँ उसलाई महाझूटाहरूमध्ये लेखिन्छ।
  • सत्य शब्दको प्रयोग केवल बोलीको सत्यता (अर्थात् असत्यको विपरित) मा मात्र सीमित नभई, यसले नियतको शुद्धता अर्थात् 'इख्लास' (सत्यनिष्ठा), सत्कर्म गर्ने दृढ सङ्कल्प र कर्महरूको सत्यतालाई समेत समेट्छ। कर्ममा सत्यताको न्यूनतम मापदण्ड भनेको व्यक्तिको बाह्य र आन्तरिक (गोप्य र प्रकट) अवस्था एकनास हुनु हो। यसका अतिरिक्त, भय र आशा आशा र अन्य आध्यात्मिक मामिलाहरूमा पनि सत्यता अनिवार्य हुन्छ। तसर्थ, जसले आफूलाई यी सम्पूर्ण गुणहरूले सुशोभित गर्छ, ऊ ‘सिद्दीक’ (परम सत्यवादी) को दर्जामा पुग्छ; र जसले यीमध्ये केही गुणहरू मात्र प्राप्त गर्दछ, ऊ ‘सादिक’ (सत्यवादी) कहलाउँछ।