रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो कि अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) वर्षभरि नै लगातार व्रत (रोजा) बस्ने गर्नुहुन्थ्यो र कहिल्यै व्रत छोड्नुहुन्नथ्यो, र रातभरि नमाज पढ्नुहुन्थ्यो अनि सुत्नुहुन्नथ्यो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई त्यसो गर्नबाट रोक्नुभयो र भन्नुभयो: "व्रत पनि बस र व्रत छोड पनि (अर्थात् कुनै दिन बस, कुनै दिन नबस), र रातमा नमाज पनि पढ र सुत पनि।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाहलाई वर्षभरि लगातार व्रत बस्न र रातभरि नमाज पढ्नबाट रोक्नुभयो र भन्नुभयो: "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर र भित्र धस्सिएका हुनेछन् र तिम्रो शरीर थाक्नेछ तथा गल्नेछ। जसले वर्षभरि नै लगातार व्रत बस्छ, उसले व्रत बसेकै मानिँदैन।" किनभने, निषेध गरिएको कार्य गरेको हुनाले उसले व्रतको पुण्य पनि पाउँदैन र निरन्तर व्रत बसेको हुनाले खानुपर्ने खाना पनि खाँदैन। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई हरेक महिना तीन दिन व्रत बस्न मार्गदर्शन गर्नुभयो, जुन पूरै वर्ष व्रत बसे सरह हुन्छ; किनकि प्रत्येक राम्रो कामको पुण्य १० गुणा हुन्छ, र यो पुण्यको सबैभन्दा न्यूनतम वृद्धि हो। यो निर्देशन सुने पछि, अब्दुल्लाहले भन्नुभयो: मसँग यो भन्दा बढी गर्ने शक्ति छ। जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: त्यसो भए दाऊद (अलैहिस्सलाम) को जस्तै व्रत बस, जुन सबैभन्दा उत्तम उपवास हो। उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो; किनभने उहाँको उपवास बस्ने तरिकाले उहाँको शरीर कमजोर हुँदैनथ्यो।