नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो कि बनी इस्राईलको नेतृत्व र शासन उनीहरूका सन्देशवाहकहरूले गर्दथे, र उनीहरूको मामिलाको रेखदेख त्यसरी नै गर्दथे जसरी राजा वा शासकहरूले आफ्ना प्रजाको गर्दछन्। जब-जब उनीहरूमा कुनै विकृति वा खराबी देखा पर्दथ्यो, अल्लाहले उनीहरूका लागि एक नबी पठाउनुहुन्थ्यो, जसले उनीहरूको व्यवस्थालाई सुधार्नुहुन्थ्यो र उनीहरूले धर्मका नियमहरूमा गरेका परिवर्तन वा विकृतिहरूलाई हटाउनुहुन्थ्यो। तर निश्चय नै मपछि कुनै नबी आउने छैनन् जसले उनीहरूले गरे जस्तै कार्य गरुन्; बरु म पछि खलिफाहरू (उत्तराधिकारीहरू) हुनेछन् र उनीहरूको सङ्ख्या धेरै हुनेछ, जसका कारण उनीहरूका बीचमा मतभेद र विवाद उत्पन्न हुनेछ। तब सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: यस्तो अवस्थामा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले जवाफ दिनुभयो: यदि एक खलीफा पश्चात् अर्को खलीफाप्रति बफादारिताको शपथ (बैअत) लिइन्छ भने; प्रथम खलीफाको शपथ वैध मानिन्छ जसको निर्वाह गर्नु कर्तव्य हो, र दोस्रो शपथ अमान्य ठहरिन्छ र त्यसको लागि नेतृत्वको दाबी गर्नु वर्जित (हराम) छ। तिनीहरूलाई उनीहरूको अधिकार प्रदान गर्नु, र अवज्ञा वा पापका कार्यहरू बाहेक अन्य समस्त विषयहरूमा आज्ञाकारिताका साथ तिनीहरूको अनुसरण गर्नु। निश्चय नै, अल्लाहले उनीहरूलाई तिमीहरूप्रति गरेका कार्यहरूको सोधपुछ र हिसाब लिनुहुनेछ।