नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुण्य र पाप को बारेमा बताउँदै भन्नुभयो: "निश्चय नै भलाइ र पुण्य को सबैभन्दा ठूलो गुण अल्लाहप्रति तक्वा (डर र भक्ति) सहितको राम्रो आचरण हो । सृष्टि (मानिसहरू) प्रति सहनशीलता, कम क्रोध, मुस्कानयुक्त अनुहार, मधुर वचन, सम्बन्ध कायम राख्नु, आज्ञाकारिता, नम्रता, उपकार, राम्रो व्यवहार र उत्तम सङ्गति हो। भलाइ र पुण्य त्यो हो, जसमा हृदय र आत्माले शान्ति महसुस गर्दछ। पाप त्यो हो, जसले आत्मामा अशान्ति उत्पन्न गर्छ र हृदयमा यस्तो हिचकिचाहट वा द्विविधा पैदा गर्छ, जसले गर्दा सन्तुष्टि र शान्ति रहँदैन। यो कार्य पाप हो कि भन्ने डर हृदयमा रहिरहन्छ र व्यक्ति त्यसलाई प्रकट गर्न रुचाउँदैन, किनभने त्यो कुरा मानिसहरू—विशेषतः आदरणीय र सद्गुणी व्यक्तिहरूको—दृष्टिमा निन्दनीय ठहरिन्छ। मानव स्वभावले आफ्ना राम्रा कामहरू अरूलाई देखाउन चाहन्छ, तर यदि आत्माले आफ्ना कुनै कार्यहरू अरूको सामु ल्याउन अरुचि देखाउँछ भने, त्यो कार्य पाप हो, जसमा कुनै भलाइ छैन। त्यसैगरी मानिसहरूले तिमीलाई त्यस कुराको पक्षमा फतवा (धार्मिक निर्णय) दिए पनि, जबसम्म तिम्रो मनमा त्यस कुराप्रति शङ्काको कुनै अंश बाँकी छ, तबसम्म त्यस फतवालाई अनुसरण नगर्नु नै उचित हुन्छ। किनभने यदि शङ्का ठोस छ र फतवा दिने व्यक्तिले पर्याप्त ज्ञानबिना निर्णय गरेको छ भने, त्यस्तो फतवाले शङ्का हटाउँदैन। तर यदि फतवा शरियतका ठोस प्रमाणहरूमा आधारित छ भने, प्रश्नकर्ताले त्यसको पालन गर्नु अनिवार्य हुन्छ—चाहे उसको हृदय त्यसप्रति पूर्ण रुपमा सन्तुष्ट नहोस्।