नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुसलमानलाई उसको मनमा उत्पन्न हुने खराब विचारहरू (हदीसे नफ्स) का कारण तबसम्म दण्डित गरिँदैन, जबसम्म उसले तिनलाई वचनद्वारा व्यक्त गर्दैन वा कर्मद्वारा व्यवहारमा उतार्दैन। निस्सन्देह, अल्लाहले यस उम्मतबाट यो बोझ हटाइदिनुभएको छ र क्षमा प्रदान गर्नुभएको छ। तसर्थ, मनमा आफैँ उत्पन्न हुने क्षणिक खराब विचारहरूमा कुनै पकड (सजाय) छैन, जबसम्म ती विचारहरूमा व्यक्तिको मन स्थिर हुँदैन र उसले तिनलाई स्वीकार गर्दैन। तर, यदि ती विचारहरूले हृदयमा जरा गाडेर दृढ रूप लिन्छन्—जस्तै अहङ्कार, घमण्ड र कपट—वा उसले तिनलाई शारीरिक अङ्गहरूद्वारा कार्यमा ल्याउँछ अथवा बोलीद्वारा व्यक्त गर्छ भने, त्यस अवस्थामा ऊ अवश्य उत्तरदायी हुनेछ (सजायको हकदार बन्नेछ)।