रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत, वला मुअ्तिय लिमा मनाअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द’ पढ्नुहुन्थ्यो । अर्थात् म तौहीद (एकेश्वरवाद) को वचनलाई स्वीकार गर्दछु । म साँचो उपासना केवल अल्लाहको लागि योग्य रहेको तथ्य स्वीकार गर्दछु र उहाँबाहेक सबैका लागि अस्वीकार गर्दछु । किनकि अल्लाह बाहेक अरु कोही सच्चा उपाष्य छैन । म पुष्टि गर्छु कि साँचो र पूर्ण सार्वभौमसत्ता अल्लाहका लागि हुन् र आकाश र पृथ्वीमा भएका सबै प्रशंसाका हकदार केवल उहाँ मात्र हुनुहुन्छ । किनकि उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ । यदि उहाँले कसैलाई केही प्रदान गर्नुहुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैनन् वा कसैलाई केही नदिने नियत गर्नुभएको छ भने त्यसलाई कसैले दिन सक्दैन । कुनै धनी व्यक्तिको धनले उहाँको दरबारमा उसलाई कुनै फाइदा गर्दैन । हो, उसको सत्कर्मले मात्र उसलाई फाइदा गर्नेछ ।